चन्द्रपुर, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहटको सन्तपुरमा गर्ने वृहत खुल्ला सभाको तयारी पुरा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले खुल्ला सभालाई विशेष बनाउने गरी चन्द्रपुर नगरपालिका वडा नं–८ स्थित सन्तपुर मेला लाग्ने चौरमा तयारी गरेको हो । चन्द्रपुर नगर सभापति उदय सापकोटा (सुरेन) ले खुल्ला सभाका लागि तयारी पुरा भईसकेको जानकारी दिए । खुल्ला सभालाई सम्बोधन गर्नका लागि शनिवार दिउँसो १ बजे पार्टीका सभापति रवी लामिछाने रौतहट आउने उनले बताए । पार्टी सभापति लामिछाने सहित सोविता गौतम, मनिष झा, अशोक चौधरी लगायतका केन्द्रीय नेताहरू रौतहट आउने तय भएको नगर सभापति सापकोटाले जानकारी दिएका छन् ।
मंसिर ९ गते चन्द्रपुर र गौरमा कार्यक्रम हुने उनको भनाई छ । गौरको राईस मिलमा शनिबार बिहान ११ बजे भेटघाट कार्यक्रम राखिएको राष्ट्रिय स्वतन्त्र पार्टी रौतहटले जनाएको छ । पार्टीको खुल्ला सभा तथा भेटघाट कार्यक्रमलाई सभ्य र भब्य बनाउने गरी कार्य योजना निर्माण गरीएको राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश प्रवक्ता रंजित रामले बताए ।

