रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपीमाथि स्थानीयको कुटपिट

राैतहट ८ साउन
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको खुकुरी प्रहारको घटनामा एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहान करिब १०:३० बजे हरिहरपुर टोल निवासी चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार खुकुरी प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही घर भई हाल हरिहरपुरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवार संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि आक्रोशित स्थानीयले आरोपीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको छ । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

ताजा समाचार

Related Articles