राैतहट ६ साउन
रौतहटको चन्द्रपुर नगरपालिका–६ डाबरीमा ४४ औँ बीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन् । जननायक बीपी कोइरालाले प्रतिपादन गरेको सामाजिक न्याय, लोकतान्त्रिक मूल्य–मान्यता तथा वातावरण संरक्षणको भावनालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमोद अग्रवाल र देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव, क्षेत्रीय सभापति रामस्नेही यादव, नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । सहभागीहरूले वृक्षारोपणले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

