मधेशका ८ जिल्लामा तामाङ जागरण अभियान सञ्चालन गर्ने घेदुङको निर्णय

रौतहट ९ साउन
रौतहट, चन्द्रनिगाहपुर। नेपाल तामाङ घेदुङ मधेश प्रदेशको तेस्रो विस्तारित बैठक रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । बैठकले आगामी भदौ महिनादेखि मधेश प्रदेशका आठ वटै जिल्लामा “तामाङ जागरण अभियान“ सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज काजीमान थिङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेशअन्तर्गतका आठवटै जिल्लाका अध्यक्ष, इन्चार्ज तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । नेपाल तामाङ घेदुङ मधेश प्रदेशका सचिव बालकुमार रुम्बाका अनुसार बैठकमा प्रत्येक जिल्लाका अध्यक्षहरूले संगठनको वर्तमान अवस्था, सदस्य विस्तार, गतिविधि तथा आगामी योजनाबारे जिल्लागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा रौतहटका सचिव भुवलबहादुर वाइबा, धनुषाका अध्यक्ष कालीबहादुर थिङ, सप्तरीका अध्यक्ष सूर्यमान सिंतान, सर्लाहीका अध्यक्ष बुद्ध लामा, महोत्तरीका अध्यक्ष मोहनबहादुर सिंतान तथा बारा, पर्सा र सिराहाका अध्यक्षहरूले जिल्लागत संगठनात्मक विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी सप्तरीका इन्चार्ज भीमबहादुर घिसिङ, महोत्तरीका पूर्णबहादुर मोक्तान, धनुषाका चन्द्रबहादुर मोक्तान र रौतहटका रामबहादुर घलानलगायतले संगठन सुदृढीकरणका विषयमा आफ्नो धारणा राखेका थिए ।
बैठकले सप्तरीबाट सुरु हुने तामाङ जागरण अभियान क्रमशः मधेश प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । अभियानमार्फत तामाङ समुदायको भाषा, संस्कृति, पहिचान, संगठन विस्तार तथा अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गरिने बताइएको छ ।
त्यसैगरी, असोज ३ गते संविधान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको संविधानले तामाङ समुदायलाई प्रदान गरेका अधिकार र तिनको कार्यान्वयन सम्बन्धी विशेष बहस कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा संघीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज काजीमान थिङले तामाङ समुदायको पहिचान संरक्षणका लागि केही विशेष निर्देशनसमेत दिएका छन् । उनले नेपाल तामाङ घेदुङका सबै तहका बैठकमा अनिवार्य रूपमा तामाङ टोपी लगाउने, सामाजिक सञ्जालमा नामको पछाडि “तामाङ“ उल्लेख गर्ने, नवजात शिशुको नाम तामाङ भाषासँग सम्बन्धित शब्दबाट राख्ने तथा सार्वजनिक स्थान, चोक र पार्कहरूलाई पनि तामाङ संस्कृति झल्किने नामकरण गर्न आग्रह गरेका छन् । नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष सञ्जीव मोक्तानको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन प्रदेश सचिव बालकुमार रुम्बाले गरेका थिए। बैठकले संगठन विस्तारसँगै तामाङ समुदायको भाषा, संस्कृति, पहिचान र संवैधानिक अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा समाचार

Related Articles