रौतहट, ५ साउन
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराईस्थित ब्रमस्थान मन्दिर नजिक भित्री सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबारे पौराईबाट पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा ४४ प ९३३७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका स्थानीय ६१ वर्षीय कालुमान माझीलाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–२ फुलबारी टोलका करिब ३० वर्षीय माइलो पुलामी, पछाडि सवार २९ वर्षीय लक्ष्मण वाइबा तथा पैदलयात्री कालुमान माझी घाइते भएका छन् । घाइते चालक पुलामीको टाउको र अनुहारमा चोट लागेको छ भने पछाडि सवार वाइबाको दुवै हातमा चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरि पैदलयात्री माझीको दाहिने खुट्टाको कुरकुच्चा तथा शरीरमा भित्री चोट लागेको बताइएको छ । तीनै जनाको अवस्था मध्यमदेखि सामान्य रहेको र उनीहरूको चपुर अस्पताल प्रालि., चन्द्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौराईबाट प्रहरी सहायक निरीक्षक (असई) इन्द्रदीप थापाको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

