विद्युत महसुल नतिर्ने कटहरिया नगरपालिकाको विद्युत लाइन काटियो

रौतहट २३ कार्तिक
रौतहटको कटहरिया नगरपालिकाका २ कार्यालयको विद्युत लाइन काटिएको छ । रौतहटको कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको कार्यालयले विद्युत बक्यौता नतिरेकोले सो दुइ कार्यालयको विद्युत लाइन काटिएको नेपाल विद्युत प्राधिकरण मौलापुरले जनाएको छ । लामो समयसम्म सो दुइ कार्यालयले महसुल असुली नगरेकाले विद्युत लाइन काटनु परेको प्राधिकरणको भनाइ रहेको छ । जसले गर्दा सेवाग्राहीहरुलाई सेवा प्रवाहमा समस्या भएको छ । कटहरिया नगरपालिकाको ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख विद्युत महसुल तिर्न बाकी रहेको नेपाल विद्युत प्राधिकरण मौलापुरले जनाएको छ । वक्यौता रकम नतिरेका ग्राहकहरुको विद्युत लाइन काटिएको कार्यालय प्रमुख दिनेश यादवले बताउनु भयो । पटक पटक विद्युत महसुल तिर्न आग्रह गर्दा सोत वेवास्ता गरेपछि विद्युत काट्न बाध्य भएको यादवले बताउनु भयो । सो दुइ कार्यालयको मिटर खोलेर प्राधिकरणको कार्यालयमा ल्याइएको उहाले जानकारी दिनु भएको छ । विगत ३ दिनदेखि विद्युत आपुर्ति बन्द हुदा नगरपालिकाको कामकाज ठप्प भएको सोही नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताउनु भयो ।कटहरिया नगरपालिकाले विद्युत प्राधिकरणको नाममा ३ लाखको चेक काटिसकेकाले अब विद्युत आपुर्ति हुने प्रमुह प्रशासकिय अधिकृत हरिशंकर कुमार सिंकले बताउनु भएको छ । कटहरिया नगरपालिकाको खानेपानीको महसुल नगरपालिकाले तिर्ने घोषणा गरेकाले खानेपानी कार्यालयको विद्युत महसुल नगरपालिकाले नै तिर्नु पर्ने खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताउनु भयो । खानेपानीको विद्युत आपुर्ति नहुदा कटहरिया नगरपालिकाका वडा नम्बर ४ र ५ का वडाका १६०० ेवाग्राही खानेपानीबाट बञ्चित हुनु परेको स्थानियले बताएका छन ।

ताजा समाचार

Related Articles