रौतहटमा सामाजिक सुरक्षा भत्ता अनियमितता : ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट ४ साउन
रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता भएको आरोपमा ४२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुर, वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झा, वडा सचिव उमेश चौधरी लगायत ४२ जनाले आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अभियोग लगाइएको छ । अनुसन्धानबाट आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म कानुनी योग्यता नपुगेका व्यक्तिलाई लाभग्राही कायम गरी वृद्धभत्ता, एकल महिला/विधवा भत्ता तथा दोहोरो शीर्षकमा समेत भुक्तानी गरिएको खुलेको छ । अख्तियारका अनुसार आवश्यक निवेदन तथा प्रमाण कागजातबिनै झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरिएको, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिले विभिन्न लाभग्राहीका नाममा औँठाछाप लगाएर भत्ता बुझेको तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुट्टा विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अयोग्य व्यक्तिलाई भत्ता उपलब्ध गराइएको पाइएको छ । यस्तै, उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवित रहेका महिलालाई समेत एकल महिला/विधवा भत्ता उपलब्ध गराइएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । उक्त कार्यबाट सार्वजनिक सम्पत्तिको हिनामिना भएको निष्कर्षसहित प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी, गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको कसुरमा सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

ताजा समाचार

Related Articles