रौतहटको मौलापुरमा लालबकैया नदीको बाँधको अनुगमन, उच्च सतर्कता अपनाउन आग्रह

रौतहट ४ साउन
रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया नदीको बाँधको अनुगमन तथा निरीक्षण गरिएको छ । मिति २०८३ साउन ४ गते साँझ करिब ७ : १० बजे प्रत्येक वर्ष बाढीका कारण बाँध कटान हुने जोखिमलाई मध्यनजर गर्दै सम्भावित विपद् न्यूनीकरणका लागि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन, मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित रूपमा पालना गर्न तथा जोखिम बढेमा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ । स्थलगत निरीक्षणमा रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य धिरज प्रसाद पटेल, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह, सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, उपनिरीक्षक कुमार बुढाथोकी, सिँचाइ कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । टोलीले बाँध कटानको अवस्था, सम्भावित जोखिम तथा रोकथाम र न्यूनीकरणका उपायबारे छलफल गर्दै आवश्यक समन्वय र तयारीलाई प्रभावकारी बनाउने विषयमा समेत निर्णय गरेको जनाएको छ ।

ताजा समाचार

Related Articles