राजदेवी, रौतहट ३ साउन
रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुरमा करिब १२ वर्षअघि निर्माण सुरु गरिएको हनुमान मन्दिर अहिले पनि अलपत्र अवस्थामा रहेको पाइएको छ । धार्मिक आस्थाको केन्द्र बन्नुपर्ने मन्दिर अधुरै छाडिँदा स्थानीयवासी निराश बनेका छन् । स्थानीय रामाशंकर पटेलका अनुसार शहरी विकास मन्त्रालयको पहलमा मन्दिर निर्माण कार्य सुरु गरिएको थियो । निर्माणको प्रारम्भिक चरणमा ९ वटा आरसीसी पिलर मात्रै खडा गरिए पनि त्यसपछि काम पूर्ण रूपमा रोकिएको उहाले बताउनु भयाे ।
हाल मन्दिरको संरचना पिलरमै सीमित छ । वर्षौंदेखि निर्माण नहुँदा ती पिलर जीर्ण बन्दै गएका छन् । धार्मिक स्थलको यस्तो अवस्था देख्दा जो–कोहीलाई पनि अचम्म लाग्ने स्थानीयको भनाइ छ । स्थानीयकाथानीयका अनुसार मन्दिर निर्माणका लागि राज्यबाट करिब ६ देखि ७ लाख रुपैयाँ खर्च भइसकेको छ । तर खर्च भएको बजेटअनुसार काम सम्पन्न नभएको भन्दै उनीहरूले सम्बन्धित निकायसँग छानबिन गरी बाँकी निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन् ।
स्थानीयवासीले हनुमान मन्दिरलाई धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने भएकाले लामो समयदेखि अलपत्र परेको योजना पुनः सञ्चालन गरी शीघ्र निर्माण सम्पन्न गर्न सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।

