वागमतीको पूर्वी तटबन्धको संयुक्त अनुगमन, जोखिमयुक्त स्थानमा तत्काल मर्मत गरिने

रौतहट ३ साउन
वर्षायाम सुरु भएसँगै वागमती नदीको पूर्वी तटबन्धबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूले संयुक्त रूपमा अनुगमन गरेका छन् । अनुगमनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सिँचाइ तथा नदी व्यवस्थापन कार्यालयका डिभिजनल इन्जिनियर अभिनय चौधरीसहितको प्राविधिक टोलीको सहभागिता रहेको थियो । प्राविधिक टोलीले तटबन्धका कमजोर तथा कटानको उच्च जोखिम रहेका स्थानहरूको पहिचान गरी तत्काल मर्मत तथा संरक्षणका कार्य अघि बढाइने जनाएको छ ।  वर्षायाममा तटबन्ध फुट्न सक्ने सम्भावित जोखिमलाई समयमै नियन्त्रण गरी रौतहट र सर्लाहीका नदी तटीय बस्तीलाई बाढीबाट सुरक्षित राख्ने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ । डिभिजन इन्जिनियर अभिनय चौधरीले जोखिमयुक्त स्थानहरूमा आवश्यक मर्मत तथा सुदृढीकरणको काम तत्काल सुरु गरिने बताउनु भयाे । स्थानीय प्रशासनले पनि सम्बन्धित निकायसँग समन्वय गरी बाढीजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सम्भावित बाढीजन्य विपद् न्यूनीकरणका लागि सम्बन्धित सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको बताउनु भयाे ।  उहाले जोखिमयुक्त तटबन्धहरूको नियमित अनुगमन, आवश्यक मर्मत तथा उद्धार र राहतका पूर्वतयारीलाई प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै कुनै पनि विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी सुरक्षा निकाय र प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनु भयाे । यसैगरी, वर्षायामभरि तटबन्धको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीका कार्यलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ ।

ताजा समाचार

Related Articles