राैतहट ३ साउन
राैतहटकाे चन्द्रपुर नगरपालिका–३ र ४ को सिमानामा रहेको शान्ति सामुदायिक वन क्षेत्रमा बहुमूल्य खयरका रुखहरू अवैध रूपमा कटान गरिएको भेटिएको छ । ती काटिएका खयरका रुखहरु चाेरी तस्करी गरि डमरु बनाउनका लागि काठमाडौ लैजाने गरेकाे स्थानियकाे भनाई रहेकाे छ ।
स्थानीयवासीले वन क्षेत्रको नियमित निगरानी गर्ने क्रममा चन्द्रपुर–३ गैडाटार पूर्व टोल पुच्छर, चादी खोला र डुमजोर खोला संगम (दोभान) आसपासको क्षेत्रमा रहेका खयरका अधिकांश रुख काटिएको अवस्था फेला पारेका हुन् । घटनापछि स्थानीय उपभोक्ता र सर्वसाधारणले वन संरक्षणप्रति गम्भीर चुनौती सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीयका अनुसार खयर जस्तो बहुमूल्य वन सम्पदाको यसरी व्यापक कटान हुनु सामान्य घटना नभएको उल्लेख गर्दै तत्काल सम्बन्धित निकायले स्थलगत अनुगमन गरी सत्यतथ्य छानबिन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उपभोक्ताहरूले वन क्षेत्रमा अवैध कटानीमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन वन क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गरेका छन् ।
घटनाबारे सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति, डिभिजन वन कार्यालय तथा स्थानीय सरकारको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।

