किसान मलखादको अभावमा सास्तीमा, गैडाटारमा बिहानैदेखि लाइन बस्न बाध्य

रौतहट, चन्द्रपुर ३१ असार
रौतहटका किसानहरू आवश्यक समयमा रासायनिक मल नपाउँदा सास्ती खेप्न बाध्य भएका छन्। रोपाइँ तथा बाली व्यवस्थापनको महत्वपूर्ण समयमा मलखादको अभाव भएपछि चन्द्रपुर नगरपालिका–३, गैडाटारका किसानहरू बुधबार बिहानैदेखि मल लिन लामो लाइनमा बसेका छन् । गैडाटारमा रहेका तीन वटा सहकारी संस्थामार्फत अनुदानको मल वितरण हुँदै आए पनि मागको तुलनामा आपूर्ति अत्यन्त न्यून हुँदा किसानहरू घण्टौँ पालो कुर्न बाध्य भएका हुन् । बुधबार पूर्ण महिला सहभागी सहकारी संस्थाको भवनमा सयौँ किसान मलको प्रतीक्षामा लाइन बसेका थिए ।
सहकारीका अनुसार एकपटकमा करिब ५० देखि १०० बोरा मात्र मल उपलब्ध हुने गरेको छ, जबकि मल लिन आउने किसानको संख्या ३०० देखि ४०० जना सम्म पुग्ने भएकाले सबै किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउन नसकिएको हो ।
गैडाटार क्षेत्रमा पछिल्लो समय केरा खेतीप्रति किसानहरूको आकर्षण बढेको छ। तर समयमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको किसानहरूको गुनासो छ। उनीहरूका अनुसार सरकारले आवश्यक परिमाणमा मल उपलब्ध गराउन नसक्दा खेतीपाती नै प्रभावित भइरहेको छ ।
स्थानीय किसानहरूले भारतबाट आउने मललाई सरकारले अवैध भन्दै बिक्री वितरणमा रोक लगाएपछि बजारमा उपलब्ध मल महँगो मूल्यमा किन्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। यसले उत्पादन लागत बढाएको र किसान थप आर्थिक भारमा परेको उनीहरूको भनाइ छ ।
हाल गैडाटारका सहकारी संस्थाहरूले युरिया प्रति बोरा रु. १,०५० र डीएपी प्रति बोरा रु. २,५०० मा बिक्री वितरण गर्दै आएका छन् । सरकारले देशभर पर्याप्त मल मौज्दात रहेको र किसानलाई अभाव नभएको दाबी गर्दै आए पनि व्यवहारमा भने किसानहरूले समयमा मल नपाउँदा हरेक वर्ष सास्ती भोग्नुपरेको गुनासो दोहोरिएको छ। नेपाल सरकारले सहकारी संस्थामार्फत अनुदानको मल वितरण गर्दै आए पनि आपूर्ति प्रणाली प्रभावकारी हुन नसकेको किसानहरूको आरोप छ।
किसानहरूले खेतीको संवेदनशील समयमा सहज, पर्याप्त र समयमै मलखाद उपलब्ध गराउन सरकारसँग तत्काल प्रभावकारी व्यवस्था गर्न माग गरेका छन् । उनीहरूको भनाइमा, कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाका लागि मलको नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व हो ।

ताजा समाचार

Related Articles