रौतहट, चन्द्रनिगाहपुर २९ असार
प्रधानमन्त्री बालेन शाहले गत ४ माघमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरधामस्थित सभामा “अब उखु किसान र मिटरब्याज पीडितहरू अधिकार माग्न काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गरिनेछ, काठमाडौं घुम्न र पशुपति दर्शन गर्न मात्र जाने दिन आउनेछ” भन्ने उद्घोष गरेका थिए । तर, उक्त प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः आफ्ना अधिकारका लागि काठमाडौंतर्फ पैदल मार्चमा निस्किएका छन् ।

जनकपुरधामको तिरहुतियागाछीबाट असार २५ गते सुरु भएको उक्त पैदल यात्रा सोमबार रौतहटको चन्द्रनिगाहपुर आइपुगेको हो। निरन्तर वर्षा, हिलो र कठिन मौसमको सामना गर्दै छाता ओढेर यात्रा गरिरहेका पीडितहरूले चन्द्रनिगाहपुरको मेड रोड हुँदै नाराबाजीसहित र्याली निकालेका थिए । र्यालीपछि चन्द्रनिगाहपुरको मुख्य तीनकुने चोकमा आयोजित कोणसभामा सहभागीहरूले सरकारले पटक–पटक गरेका प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाए। उनीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउने, दोषीलाई कानुनी कारबाही गर्ने तथा पीडितहरूको सम्पत्ति र सम्मान फिर्ता गराउने माग दोहोर्याए । पीडितहरूले आफ्ना जायज मागहरू पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै काठमाडौंसम्मको पैदल मार्चलाई निरन्तरता दिने बताएका छन् । वर्षाको झरी, कठिन यात्रा र शारीरिक पीडालाई बेवास्ता गर्दै न्यायको खोजीमा अघि बढिरहेका मिटरब्याज पीडितहरूको यो अभियानले सरकारका विगतका प्रतिबद्धता र वर्तमान कार्यान्वयनमाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ ।

