सर्लाही मलङ्गवा २९ असार
सर्लाहीको सदरमुकाम मलङ्गवास्थित यातायात व्यवस्था कार्यालयमा वर्षाको पानी कार्यालयभित्रै पस्दा सेवा प्रवाह प्रभावित भएको छ । आफ्नै भवन नहुँदा साबिक जिल्ला विकास समिति (जिविस) को पुरानो भवनबाट सञ्चालन हुँदै आएको कार्यालय सामान्य वर्षामै डुबानमा पर्ने गरेको हो । कार्यालय परिसर तथा कोठाभित्र पानी जमेर छ्यालब्याल भएपछि सेवाग्राही र कर्मचारी दुवैले सास्ती खेपिरहेका छन् । पुरानो भवन गहिरो स्थानमा रहेको र वरपर अग्ला संरचना निर्माण भएकाले वर्षाको पानी निकास हुन नसक्दा कार्यालय बारम्बार डुबानमा पर्ने गरेको जनाइएको छ ।
सेवा लिन पुगेका हरिवन नगरपालिका–२, अत्रौलीका मानबहादुर तामाङले कार्यालय प्रवेश गर्न जुत्ता हातमा बोक्नुपर्ने र कपडा माथि सार्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार कार्यालयभित्र पानी जमेर लेउ लागेकाले चिप्लिने र लड्ने जोखिमसमेत बढेको छ । कार्यालयभित्र पानी जमिरहँदा महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटरलगायत सामग्रीमा क्षति पुग्ने जोखिम रहेको कर्मचारीहरूको भनाइ छ । ठूलो वर्षा भएको दिन कार्यालयभित्र प्रवेश गर्नसमेत कठिन हुने उनीहरूले बताएका छन् ।
कार्यालय प्रमुख राजकिशोर साहले आफ्नै भवन नहुँदा समस्या हुँदाहुँदै पनि यही भवनबाट सेवा सञ्चालन गर्न बाध्य भएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष मलङ्गवा नगरपालिका–२ स्थित श्रीराम कविर मठले उपलब्ध गराएको नौ कठ्ठा जग्गामा नयाँ कार्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको थियो। तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले शिलान्यास गरे पनि जग्गासम्बन्धी मुद्दा परेपछि निर्माण कार्य अघि बढ्न सकेको छैन । भवन निर्माण प्रक्रिया अवरुद्ध हुँदा पुरानै भवनबाट सेवा दिनुपर्ने बाध्यता कायम रहेको कार्यालयले जनाएको छ ।

