रौतहट २८ असार
रौतहटका विभिन्न मुख्य चोक तथा बजार क्षेत्रमा फुटपाथमा खुला रूपमा खाद्यान्न बिक्री गर्ने क्रम बढ्दै जाँदा सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ । गौर–रोडका प्रमुख बजार तथा चोकहरू चन्द्रनिगाहपुर , सन्तपुर, डुमरिया, बालचनपुर, गरुडा, शिवनगर, जयनगर, हर्साहा, सबगढा, गौर, कटहरिया, विजयफतुवापुर, हिमालीबास, मैढा, कनकपुर, विश्रामपुर लगायत जिल्लाका अधिकांश स्थानमा फलफुलहरु ,पकौडा, भुजा, जेरी तथा अन्य तयारी खाद्यान्न खुला रूपमा बिक्री वितरण भइरहेको स्थानीयले बताएका छन् ।
व्यस्त सडकछेउमा धुलो, धुवाँ र फोहोरको बीचमा कुनै पनि सुरक्षित आवरणबिना खाद्यान्न राखेर बिक्री गरिँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा पर्ने स्थानीयवासीको भनाइ छ । विशेषगरी वर्षायाममा हिलो, फोहोर र संक्रमणको जोखिम बढ्ने भएकाले यस्ता खाद्यान्नको उपभोगले विभिन्न सरुवा रोग तथा खाद्यजन्य समस्याको खतरा बढ्न सक्ने उनीहरूको चिन्ता छ । स्थानीयवासीले फुटपाथ व्यवसायीको जीविकोपार्जनलाई सम्मान गर्दै उनीहरूलाई व्यवस्थित स्थान उपलब्ध गराई स्वच्छ, सफा र स्वास्थ्य मापदण्डअनुसार खाद्यान्न बिक्री गर्ने वातावरण तयार गर्न सम्बन्धित स्थानीय तहसँग माग गरेका छन् । साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकाय र स्थानीय सरकारले नियमित अनुगमन गरी खुला रूपमा अस्वस्थकर तरिकाले खाद्यान्न बिक्री वितरण गर्ने कार्यलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्नुपर्ने उनीहरूको जोड छ ।
उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वच्छ र सुरक्षित खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न सम्बन्धित निकायको समयमै ध्यान जानुपर्ने देखिएको छ ।

