गुजरा नगरपालिकाको मुख्य प्रवेशद्वारमै हिलो र फोहोरको थुप्रो, जनप्रतिनिधि र कर्मचारी मौन

रौतहट २८  असार
रौतहटको गुजरा नगरपालिकाको कार्यालयको मुख्य प्रवेशद्वार नै वर्षात्को पानीले जमेको हिलो र फोहोरले ढाकिएको अवस्थामा भेटिएको छ ।  नगरपालिकाको आकर्षक भवन अगाडि नै यस्तो अस्तव्यस्त दृश्य देखिएपछि स्थानीयवासीले जनप्रतिनिधि तथा कर्मचारीको बेवास्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार तराई पोस्टको टोलीले स्थलगत अवलोकन गर्दा नगरपालिकाको भवन बाहिरबाट हेर्दा व्यवस्थित र आकर्षक देखिए पनि मुख्य गेटबाटै प्रवेश गर्ने स्थान हिलो, पानी र फोहोरले भरिएको भेटिएको हो। सेवाग्राही तथा सर्वसाधारणलाई कार्यालय प्रवेश गर्नसमेत कठिनाइ हुने अवस्था रहेको देखिएको छ ।
स्थानीयका अनुसार उक्त सडक कालोपत्रे गरिए पनि प्रभावकारी ढल निकासको व्यवस्था नगरिएकाले सामान्य वर्षा हुँदा नै पानी जम्ने, हिलो हुने र आवतजावतमा समस्या हुने गरेको छ । वर्षायाममा समस्या अझ बढ्ने गरेको उनीहरूको भनाइ छ । नगरपालिकाको मुख्य प्रवेशद्वार नै फोहोर र हिलोले कुरूप बनेको अवस्थामा रहँदा सरसफाइ तथा पूर्वाधार व्यवस्थापनप्रति सम्बन्धित निकाय गम्भीर नभएको स्थानीयको आरोप छ ।  सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयको प्रवेशद्वार नै यस्तो अवस्थामा रहनुले नगरपालिकाको व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
स्थानीयवासीले तत्काल ढल निकासको उचित व्यवस्था गर्दै मुख्य प्रवेशद्वारको सरसफाइ गर्न तथा दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने माग गरेका छन् ।

ताजा समाचार

Related Articles