रौतहट, २८ असार । वृन्दावन नगरपालिका–२ स्थित धनगढी टोलमा विवाह, धार्मिक अनुष्ठान तथा सडक सरसफाइलाई मर्यादित र व्यवस्थित बनाउन स्थानीयवासीले सामूहिक रूपमा नयाँ सामाजिक नियम लागू गरेका छन् ।
धनगढी टोलमा बसेको स्थानीय बासिन्दाको बैठकले सामाजिक विकृति नियन्त्रण, ध्वनि प्रदूषण न्यूनीकरण तथा सार्वजनिक सरसफाइ कायम गर्ने उद्देश्यले विभिन्न निर्णय सर्वसम्मत रूपमा पारित गरेको वडा अध्यक्ष सिकिन्द्र पटेलले जानकारी दिनुभयो ।
बैठकले विवाहका अवसरमा आउने वा जाने जन्तीका नाममा हुने हुलहुज्जत, अभद्र व्यवहार तथा वातावरण बिगार्ने गतिविधिलाई नियन्त्रण गर्न रु. ५ हजारदेखि रु. ५० हजारसम्म सामाजिक जरिवाना गर्ने निर्णय गरेको छ । आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था पनि निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै, धार्मिक तथा सामाजिक कार्यक्रममा डिजे (डीजे) लगायतका बाजागाजा जथाभावी र अत्यधिक ध्वनिमा बजाएर छिमेकीलाई असर पु¥याउने कार्य नियन्त्रण गरिने भएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई सामाजिक रूपमा कारबाही तथा जरिवाना गर्ने सहमति बैठकले गरेको छ ।
सडक तथा सार्वजनिक स्थानको सरसफाइलाई प्राथमिकता दिँदै टोलका मुख्य चोक, गल्ली तथा भित्री सडक सफा राख्ने निर्णय पनि गरिएको छ । सार्वजनिक सडकमा गाई, भैंसी तथा अन्य चौपाया बाँध्ने वा छाडा छाड्ने पशुधनीलाई पहिचान गरी आवश्यक कारबाही र जरिवाना गरिने निर्णय वडाअध्यक्ष पटेलले जानकारी दिनुभयो ।
बैठकमा टोलको विकास, आपसी सद्भाव, सुरक्षा तथा सामाजिक अनुशासनसँग सम्बन्धित अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो ।
टोलवासीहरूको उल्लेखनीय उपस्थितिमा सामूहिक हस्ताक्षरसहित पारित गरिएको उक्त निर्णय आजकै मितिदेखि लागू भएको जनाइएको छ । स्थानीय अगुवाहरूले यसबाट धनगढी टोललाई शान्त, सभ्य, स्वच्छ र अनुशासित समुदायका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तो निर्णय वडा नं–२ मा मात्र भइ पालिकाभरी हुनु पर्ने स्थानीयको भनाइ रहेको छ ।

