रौतहट २७ असार
रौतहटमा आगामी मनसुनका बेला हुन सक्ने अत्यधिक वर्षा, बाढी तथा डुबानजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण तथा प्रभावकारी उद्धार कार्यको तयारीस्वरूप मनसुनजन्य विपद् प्रतिकार्य तथा उद्धार अभ्यास (मक ड्रिल) सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालको उपस्थितिमा शनिबार (असार २७ गते) दिउँसो ४ः०० बजेदेखि गौर नगरपालिका–५ स्थित बरहवा ताल क्षेत्रमा अभ्यास सञ्चालन गरिएको हो । प्रहरी निरीक्षक कैलाश कुमार के.सी.को कमाण्डमा रहेको विपद् प्रतिकार्य तथा उद्धार टोलीले बाढी तथा डुबानको सम्भावित अवस्थालाई लक्षित गर्दै उद्धार, खोज तथा सुरक्षित स्थानमा स्थानान्तरणलगायतका अभ्यास गरेको थियो । अभ्यास साँझ ६ः१५ बजे सफलतापूर्वक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगामी मनसुनमा हुन सक्ने विपद्को प्रभाव न्यूनीकरण तथा उद्धार कार्यलाई अझ प्रभावकारी, व्यवस्थित र द्रुत बनाउन यस्ता अभ्यासले सुरक्षा निकायको तयारीलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।

