रौतहटमा तामाङ अगुवासँग अन्तरसंवाद सम्पन्न, भाषा–संस्कृतिसँगै आर्थिक सशक्तीकरणमा जोड

चन्द्रनिगाहपुर २७ रौतहट
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा “तामाङ चेतनाका लागि तामाङ अगुवासँग अन्तरसंवाद“ कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिका अध्यक्ष उपेन्द्र गोलेका अनुसार तामाङ समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवद्र्धनका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका विशिष्ट अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य रामबहादुर घलानले तामाङ भाषा, धर्म, संस्कृति र परम्परागत भेषभूषाको संरक्षणमा तामाङ अगुवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता संवादले समुदायलाई थप एकताबद्ध र सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।


अन्तरसंवादमा सहभागी अधिकांश तामाङ अगुवाहरूले समुदायको समग्र विकासका लागि सांस्कृतिक संरक्षणसँगै आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । उनीहरूले शिक्षा, रोजगारी, उद्यमशीलता र आर्थिक सशक्तीकरणमार्फत तामाङ समुदायलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य धनलाल थोकरले तामाङ समुदायले भाषा र संस्कृतिको संरक्षणसँगै अब आर्थिक क्षेत्रमा पनि सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले आफ्नो नामको पछाडि अनिवार्य रूपमा “तामाङ“ थर प्रयोग गर्न आग्रह गर्दै यसले राष्ट्रिय जनगणना तथा सरकारी तथ्याङ्कमा तामाङ समुदायको वास्तविक संख्या समेट्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिका सचिव कर्म लामाले सञ्चालन गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य रामबहादुर घलान लगायत तामाङ समुदायका अग्रज व्यक्तित्वहरू वीरबहादुर गोले, अरुण लामा, खड्गबहादुर बम्जन, हर्क मोक्तान, लालबहादुर दोङ, भुवलबहादुर वाइबा, रमेश गोले, सुकेन्द्र गोले, प्रेमबहादुर रुम्बा, रामलाल थोकर, लालबहादुर थोकर र शेरबहादुर तामाङ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिका अनुसार अन्तरसंवादले तामाङ समुदायका साझा सवाल, भाषा–संस्कृति संरक्षण, पहिचान सुदृढीकरण तथा आर्थिक उन्नतिका विषयमा महत्वपूर्ण निर्णय तथा आगामी कार्ययोजना तय गरेको जनाएको छ ।

ताजा समाचार

Related Articles