नगरप्रमुख कुर्मीको सक्रियतामा वृन्दावनको प्रशासकीय भवन निर्माणले लियो नयाँ गति

रौतहट, २७ असार। रौतहटको वृन्दावन नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशासकीय भवन निर्माणतर्फ अर्को महत्वपूर्ण चरण पार गरेको छ। नगरपालिकाको मेगा परियोजनाअन्तर्गत निर्माणाधीन प्रशासकीय भवनको छत ढलान कार्य शनिबार नगरप्रमुख विनोदप्रसाद कुर्मीले विधिपूर्वक पूजा–आराधना गरी शुभारम्भ गर्नुभएको हो।
नगरप्रमुख कुर्मीले आधुनिक सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाबाट प्रदान गरिने सेवा थप सहज, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले समृद्ध वृन्दावन निर्माणको लक्ष्यलाई साकार पार्न पूर्वाधार विकासका यस्ता योजनाहरूलाई निरन्तर प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
नयाँ भवन निर्माणसँगै सेवाग्राहीले एकीकृत र व्यवस्थित वातावरणमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। विशेषगरी साविक विश्रामपुर र रमौली क्षेत्रका स्थानीयवासीले प्रशासकीय भवन निर्माणलाई नगरको दीर्घकालीन विकाससँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै खुसी व्यक्त गरेका छन्।
नगरपालिकाका अनुसार सीपी–यति आलम जेभीले करिब ६ करोड ४६ लाख ५५ हजार रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरिरहेको छ। निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा गुणस्तरीय सुधार तथा नागरिकमैत्री प्रशासन स्थापना गर्ने उद्देश्यका साथ निर्माण भइरहेको उक्त भवनलाई वृन्दावन नगरपालिकाको विकास यात्रामा महत्वपूर्ण पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ।

ताजा समाचार

Related Articles