मौलापुर नगर प्रमुखद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि आर्थिक अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

राैतहट २६ असार
रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ निकालेको आरोप लगाउँदै उहाँलाई तत्काल निलम्बन गरी घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। शुक्रबार जारी गरिएको प्रेस वक्तव्यमा नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरे महिनौँदेखि कार्यालयमा अनुपस्थित रहँदै नगरपालिकाको प्रशासनिक कामकाज अस्तव्यस्त बनाएको, सेवाप्रवाह प्रभावित पारेको, बजेट कार्यान्वयनमा अवरोध सिर्जना गरेको तथा विकास निर्माणका काम रोकिएको आरोप लगाउनुभएको छ।
वक्तव्यमा नगर प्रमुखले नगर नेतृत्वको जानकारी वा निर्णयबिनै नगरपालिकाको खाताबाट रकम निकालिएको दाबी गर्दै उक्त कार्यलाई गम्भीर आर्थिक अनियमितता र भ्रष्टाचारजन्य गतिविधि भएको उल्लेख गर्नुभएको छ। उहाँले सरकारी खाताबाट निकालिएको भनिएको रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गर्न तथा सरकारी स्रोतसाधनको दुरुपयोग गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताउनुभएको छ।
प्रेस वक्तव्यमा मौलापुर नगरपालिकासम्बन्धी विषयमा सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको समेत अवज्ञा भएको दाबी गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीका कारण नगरवासी आन्दोलित भएको तथा नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको नगर प्रमुख साहको भनाइ छ।
उहाँले केही योजनामा भुक्तानी गरिए पनि समान प्रकृतिका अन्य योजनाको भुक्तानी रोकिएको विषयले थप विवाद र तनाव सिर्जना गरेको उल्लेख गर्नुभएको छ।
नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी नगरपालिकाको खाताबाट निकालिएको भनिएको रकम असुलउपर गरी फिर्ता गराउन तथा घटनाको निष्पक्ष छानबिन गर्न संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ। साथै, मौलापुर नगरपालिकामा देखिएको समस्या समाधानका लागि सम्बन्धित संघीय मन्त्रालयले प्रभावकारी पहल गरी स्थायी निकास निकाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नोट: यो समाचार मौलापुर नगर प्रमुखद्वारा जारी गरिएको प्रेस वक्तव्यमा आधारित छ। वक्तव्यमा लगाइएका आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन, र सम्बन्धित पक्षको प्रतिक्रिया आउन बाँकी छ।

ताजा समाचार

Related Articles