रौतहट २५ असार
रौतहट प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान तथा तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सीमा क्षेत्रमा नियमित चेकजाँचका क्रममा देवाही गोनाही नगरपालिका–१, मोतिपुर नरकटिया क्षेत्रमा BR30Q6135 नम्बरको भारतीय मोटरसाइकलमा लोड गरिएको करिब ४९ हजार रुपैयाँ बराबरको उषा पोली वायर (तार) बरामद गरिएको हो। उक्त सामानसहित करिब ६० हजार रुपैयाँ मूल्यको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, राजपुर नगरपालिका–५, लक्ष्मीनिया विजयपुर क्षेत्रमा प्रहरीले चेकजाँच गर्ने क्रममा ना ५५ प ७३३१ र ना ३१ प ४०७३ नम्बरका मोटरसाइकलका चालकहरू ११ बोरा युरिया मल छाडेर फरार भएका थिए। प्रहरीले दुवै मोटरसाइकल र मल नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान तथा मोटरसाइकलको कुल अनुमानित मूल्य १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सबै सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।
प्रहरीले सीमा क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।

