प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै मौलापुरमा प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

राैतहट २५ असार
रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक तथा विकास निर्माणका काम प्रभावित भएको भन्दै स्थानीयले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा आक्रोशित स्थानीयले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको पुतला दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले मौलापुर नगरपालिकामा तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गर्दै विभिन्न नारासमेत लगाएका थिए । प्रदर्शनकारीले “मौलापुरको बजेट फ्रिज गराउने सरकार मुर्दाबाद”, “मौलापुरमा हाकिम पठाऊँ”, “अदालतको आदेश कार्यान्वयन गर”, “नगरपालिकालाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर” लगायतका नाराबाजी गरेका थिए । स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई सरुवा गरेको भए पनि उनले नगरपालिकामा हाजिर नभएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो । त्यसपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा नगरपालिकाको प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन, भुक्तानी प्रक्रिया तथा अन्य दैनिक प्रशासनिक काम प्रभावित बनेका छन्। नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेन डाउन आन्दोलनसमेत गरेका थिए। त्यसैगरी बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही तथा सरसफाइ कर्मचारीहरूले पनि लामो समयदेखि भुक्तानी नपाएको गुनासो गरेका छन् ।
स्थानीयले जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायलाई समस्याको शीघ्र समाधान गरी नगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउन आग्रह गरेका छन् ।

ताजा समाचार

Related Articles