सुन्दरपुरमा भएको रहस्यमय दुर्घटनाको चार दिनपछि चालकसहित टिप्पर प्रहरी नियन्त्रणमा

रौतहट, २८ जेठ । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको सवारी दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार रहेका चालकलाई नियन्त्रणमा लिएसँगै घटनाको वास्तविकता खुलेको प्रहरीले जनाएको छ । जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्डअन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा सहनीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनालगत्तै चालक सवारीसहित फरार भएका थिए । घटनापछि स्थानीयवासी तथा मृतकका आफन्तले दोषी चालक र सवारी साधनलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै गरुडा बजार क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो ।
दुर्घटनालाई गम्भीर रूपमा लिँदै इलाका प्रहरी कार्यालय गरुडाले व्यापक अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर प्रसाद आचार्यका अनुसार अनुसन्धानका क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक बयानका क्रममा उनले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी आचार्यले बताउनुभयो ।
प्रहरीका अनुसार एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार सहनीलाई ठक्कर दिएका थिए । दुर्घटनापछि उनी घटनास्थलबाट फरार भएका थिए । प्रहरीले एजाजलाई पक्राउ गरी सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
दुर्घटनापछि चार दिनसम्म अन्योल र आशंकाको विषय बनेको घटनामा चालक पक्राउ परेसँगै अनुसन्धानले निष्कर्षतर्फ अग्रसर भएको प्रहरीले जनाएको छ । मृतकका परिवारजनले दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेका छन् । प्रहरीले घटनाका अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

ताजा समाचार

Related Articles