गैडाटारका डिप बोरिङ अलपत्र, करोडौँको सरकारी लगानी उपयोगविहीन

गैडाटार २९ जेष्ठ
रौतहटको गैडाटार क्षेत्रमा खानेपानी तथा सिँचाइ सुविधाको उद्देश्यले निर्माण गरिएका दर्जनौँ डिप बोरिङ (डीप ट्युबवेल) सञ्चालनमा आउन नसक्दा करोडौँ रुपैयाँ बराबरको सरकारी लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीयका अनुसार गैडाटार क्षेत्रमा विभिन्न समयमा निर्माण गरिएका करिब १० देखि १५ वटा डिप बोरिङ हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । अधिकांश बोरिङबाट पानी नै निस्किएको छैन । एक डिप बोरिङ निर्माण गर्न औसत ३० देखि ४० लाख रुपैयाँसम्म खर्च हुने गरेको बताइन्छ । सोही आधारमा हेर्दा गैडाटार क्षेत्रमा करोडौँ रुपैयाँको सरकारी लगानी जोखिममा परेको स्थानीयहरूको दाबी छ । राज्यको लगानीमा निर्माण गरिएका संरचनाहरू जनताको हितका लागि सञ्चालन हुनुपर्ने भए पनि सम्बन्धित आयोजना र उपभोक्ता समितिको लापरबाहीका कारण ती संरचनाहरू अलपत्र अवस्थामा पुगेको छ ।
डिप बोरिङ स्थलहरूमा ट्रान्सफर्मर, विद्युत् पोल, तार तथा मोटर जडानका लागि भवनसमेत निर्माण गरिएका छन् । तर सो स्थानमा निर्माण गरिएका सबै संरचना प्रयोगविहीन अवस्थामा रहेकाले संरक्षण अभावसँगै बिग्रने जोखिम बढ्दै गएको छ । स्थानीयवासीहरूले डिप बोरिङ निर्माणका लागि गठन गरिएका उपभोक्ता समितिहरूको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । सम्झौता अनुसार आयोजना सम्पन्न गरी पानी निकाल्नुपर्ने जिम्मेवारी पूरा नभएको भन्दै सम्बन्धित समितिहरूलाई जवाफदेही बनाउनुपर्ने माग स्थानिय किसानहरुले गरेका छन ।
“राज्यको लगानीबाट निर्माण भएका संरचना सञ्चालन हुन नसक्नु दुःखद विषय हो । यदि सञ्चालन गर्न सकिँदैन भने जिम्मेवार निकाय र उपभोक्ता समितिहरूले यसको जवाफ दिनु पर्न स्थानियको भनाई रहेको छ ।
स्थानीयवासीहरूले सम्बन्धित निकायसँग गैडाटारका सबै अलपत्र डिप बोरिङको प्राविधिक परीक्षण गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । सञ्चालन सम्भव नभए लगानी दुरुपयोगबारे छानबिन गरी दोषीलाई जिम्मेवार बनाउन तथा राज्यको सम्पत्तिको संरक्षण गर्न उनीहरूले आग्रह गरेका छन् । स्थानीयहरूको भनाइमा, विकासका नाममा निर्माण गरिएका यस्ता संरचनाहरू प्रयोगविहीन बन्नु भनेको राज्यको स्रोत–साधनको दुरुपयोग मात्र नभई नागरिकको अपेक्षामाथिको कुठाराघात पनि हो । त्यसैले सम्बन्धित निकायले तत्काल चासो दिएर समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ताजा समाचार

Related Articles