गैडाटार–चन्द्रनिगाहपुर रुटका अटो तथा डाफे चालकहरू संगठित, ७ सदस्यीय मजदुर संघ गठन

चन्द्रपुर २३ राैतहट
गैडाटार–चन्द्रनिगाहपुर रुटमा सञ्चालन हुँदै आएका अटो तथा डाफे यातायातका चालकहरू संगठित भएका छन् । शनिबार टेकान चिहानडाँडास्थित ट्रस्ट भवनमा सम्पन्न चालकहरूको भेलाले अजय गुरुङको अध्यक्षतामा ७ सदस्यीय गैडाटार अटो यातायात मजदुर संघ गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा नारायण प्रसाद तिमल्सिना, सचिवमा छविलाल मुक्तान तथा कोषाध्यक्षमा दुर्गा बहादुर गोले चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सोम बहादुर बल, हिरा बहादुर स्याङ्तान र सुदीप मुक्तान रहेका छन् ।
भेलाले यातायात सेवा व्यवस्थित र अनुशासित बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरेको छ । निर्णयअनुसार गैडाटार–चपुर रुटमा सञ्चालन हुने अटो तथा डाफे सवारीसाधनहरू पालोअनुसार लाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । पालो मिचेर सवारी सञ्चालन गरेमा सम्बन्धित चालकलाई रु. ५०० जरिवाना गर्ने निर्णय गरिएको छ ।
यस्तै, उक्त रुट बाहेकका अटो तथा डाफे सवारीसाधनले सेवा सञ्चालन गरेमा प्रति ट्रिप रु. ५० संघमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । चालकहरूको आर्थिक सुदृढीकरण र संगठनको विकासका लागि प्रत्येक सदस्यबाट दैनिक रु. ५० बचत संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले चन्द्रपुरदेखि गैडाटार क्षेत्रका विभिन्न गन्तव्यसम्मका लागि नयाँ भाडादर निर्धारण गरेको जनाएको छ। । साथै संघलाई कानुनी मान्यता दिलाउन चाँडै सम्बन्धित स्थानीय तहमा दर्ता प्रक्रिया अगाडि बढाइने जानकारी दिइएको छ ।
चालकहरूको साझा हित, यातायात सेवा व्यवस्थापन, अनुशासन कायम तथा यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले संघ गठन गरिएको नवगठित समितिले जनाएको छ। स्थानीय स्तरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles