रुपेन्द्र पटेल
रौतहट, २५ जेठ । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब ६ बजे गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डको छेउमा एक पुरुषको शव रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुन्ना पासवानको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको निरीक्षण गर्दा हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४०–४५ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको थियो भने टाउकोमा चोटसमेत देखिएको छ । घटनाको प्रकृति बुझ्न तथा आवश्यक प्रमाण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा एसओसीओ (क्राइम सिन म्यानेजमेन्ट) टोलीसमेत घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले मृतकको पहिचान खुल्न नसकेको बताउँदै घटनाको कारण र मृत्युको वास्तविक अवस्थाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रहरीले मृतकको सनाखत तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
घटनाको आकृति देख्दा कसैले ठक्कर दिएर भागेको हुनसक्ने अनुमान स्थानीय बसिन्दाको रहेको छ ।

