विश्व वातावरण दिवसमा चन्द्रपुरमा वक्तृत्वकला प्रतियोगिता, आयुष्मा अधिकारी प्रथम

रौतहट, २३ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा चन्द्रपुर नगरपालिकामा ‘प्लास्टिकको प्रयोग घटाऔँ, वातावरण जोगाऔँ’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘मूल समृद्धि भविष्यको आधार ः जलवायु एवं प्राकृतिक मैत्री विकास’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा वातावरण संरक्षण, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण तथा दिगो विकासका विषयमा विद्यार्थीहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सहदेव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नमुना माध्यमिक विद्यालय, चन्द्रपुरकी आयुष्मा अधिकारीले ४४.३३ अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गर्नुभयो । त्यसैगरी माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयकी युनिशा तिमल्सिनाले ४४.१६ अङ्कसहित द्वितीय स्थान प्राप्त गर्नुभयो ।
यस्तै बागमती माध्यमिक विद्यालयका लोकप्रसाद घिमिरे ४१.६६ अङ्क प्राप्त गरी तृतीय तथा डुमरिया माध्यमिक विद्यालयका रविकुमार शाह ४०.८८ अङ्कसहित चौथो स्थान हासिल गर्न सफल हुनुभयो ।
कार्यक्रममा फेकोफोनका अध्यक्ष बेदहरी दाहाल, ग्रामीण विकास केन्द्र नेपालकी उपाध्यक्ष ममता झा, सदस्य नर्मदा लामा, चन्द्रपुर नगरपालिकाका शाखा प्रमुखहरू, आडा नेपालका पूर्ण श्रेष्ठ, कार्यक्रम संयोजक चिरञ्जीवी महतो र ज्योति फुयाल , प्रशान्त रिजाल तथा २३ वटा माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
ग्रामीण विकास केन्द्र नेपाल, अक्सफाम नेपालद्वारा सञ्चालित जलवायु जोखिम तथा संकटासन्नताको सामुदायिक उत्थानशील परियोजना तथा अस्ट्रेलियन आड्रा को सहयोग आरडिसि नेपालको साझेदारीमा सञ्चालित परिवर्तन परियोजना डिभिजन वन कार्यालय सामुदायिक वन उपभोक्ता समूह को सहभागितामा यस कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग न्यूनीकरण गर्दै हरित र दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छ ।

ताजा समाचार

Related Articles