राैतहटकाे गाैरमा कार्यालयका भित्तामा थुक्ने प्रवृत्ति नियन्त्रणबाहिर, सरसफाइमा चुनौती

गौर १९ जेष्ठ
रौतहटका अधिकांश सरकारी तथा सार्वजनिक कार्यालयहरूमा भित्तामा थुक्ने प्रवृत्ति नियन्त्रण हुन नसक्दा सरसफाइ तथा सौन्दर्यमा गम्भीर असर परेको छ। विशेषगरी सदरमुकाम गौरस्थित विभिन्न कार्यालयका सिँढीका कुनाकाप्चा, भित्ताका छेउ तथा आवतजावत हुने स्थानहरूमा पान, गुट्खा तथा सुर्तिजन्य पदार्थ सेवन गरी थुक्ने गरिएको देखिएको छ। कार्यालयमा सेवा लिन तथा विभिन्न कामका लागि पुग्ने सेवाग्राहीहरूले यस्ता स्थानहरूमा जथाभावी थुकिएका दाग र फोहोरका कारण वातावरण अस्वच्छ बन्नुका साथै कार्यालयको सौन्दर्यसमेत कुरूप बनेको बताएका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण र सरसफाइप्रति सचेतना अभाव हुँदा यस्तो समस्या वर्षौंदेखि दोहोरिँदै आएको स्थानीयहरूको भनाइ छ ।
थुक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न केही कार्यालयहरूले भित्तामा विभिन्न देवीदेवताका तस्वीर टाँस्ने उपाय अपनाएको पाइए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन। धार्मिक आस्थाका कारण तस्वीर भएको स्थानमा थुक्ने कार्य केही हदसम्म कम भए पनि अन्य स्थानहरूमा भने अवस्था उस्तै रहेको देखिन्छ। स्थानीयवासीहरूका अनुसार कार्यालय परिसरमा जथाभावी थुक्ने कार्यले केवल फोहोर मात्र बढाएको छैन, यसले कार्यालयको गरिमा र सेवाग्राहीमाझ पर्ने सकारात्मक प्रभावसमेत कमजोर बनाएको छ। सरसफाइ कायम राख्न सम्बन्धित निकायले कडा निगरानी, सचेतनामूलक अभियान तथा आवश्यक नियम कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
सार्वजनिक स्थललाई स्वच्छ, सुन्दर र व्यवस्थित राख्नु सबै नागरिकको साझा दायित्व भएकाले जथाभावी थुक्ने जस्ता अस्वस्थ र असभ्य व्यवहार अन्त्य गर्न सरोकारवाला निकाय तथा नागरिक दुवै पक्ष जिम्मेवार बन्नुपर्ने देखिएको छ ।

ताजा समाचार

Related Articles