रौतहट, १८ जेष्ठ
रौतहटको चन्द्रपुर नगरपालिका–४ टेकान आर्मी टोलमा आवारा कुकुरहरूको समूहले घरमै पसेर दुई वटा बाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
स्थानीयवासीका अनुसार गएराति सरस्वती लम्सालको घरमा पसेको कुकुरहरूको समूहले दुई वटा बाख्रामाथि आक्रमण गरी मारेको हो । घटनाबारे जानकारी दिँदै स्थानीय कपिल पोख्रेलले पछिल्लो समय क्षेत्रमा आवारा कुकुरहरूको संख्या बढ्दै गएको र उनीहरू झुण्ड बनाएर पशुचौपायामाथि आक्रमण गर्न थालेको बताए ।
बाख्रा मारेको घटनापछि स्थानीयवासीहरूमा सुरक्षा चिन्ता बढेको छ। पशुचौपायामाथि आक्रमण गर्ने कुकुरहरूले बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणमाथि पनि आक्रमण गर्न सक्ने सम्भावना रहेको भन्दै उनीहरू भयभीत बनेका छन् ।
स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आवारा कुकुर व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् । कुकुरको संख्या नियन्त्रण, आवश्यक खोप तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन नगरे यस्ता घटना थप बढ्न सक्ने उनीहरूको भनाइ छ ।
पशु क्षतिसँगै मानव सुरक्षासमेत चुनौतीमा पर्न थालेपछि चन्द्रपुर क्षेत्रमा आवारा कुकुर व्यवस्थापन अहिले स्थानीय सरोकारको विषय बनेको छ ।

