राैतहटमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवामा चरम अव्यवस्था, सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य

गौर १९ जेष्ठ
जिल्ला प्रशासन कार्यालय रौतहटमा राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवामा देखिएको अव्यवस्थाका कारण सेवाग्राहीहरू सास्ती खेप्न बाध्य भएका छन् । दैनिक सयौं नागरिक सेवा लिन कार्यालय पुग्ने गरे पनि प्रभावकारी व्यवस्थापनको अभावले सेवाप्रवाह प्रभावित बनेको गुनासो बढ्दै गएको छ । सेवाग्राहीका अनुसार राहदानी बनाउन दिनहुँ करिब ५०० देखि १ हजार जनासम्म कार्यालय पुग्ने गरेका छन्। तर बायोमेट्रिक विवरण संकलनका लागि एक जना कर्मचारी मात्रै खटाइँदा सेवा लिन ३–४ घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको छ ।
पछिल्लो समय बढ्दो गर्मीका बीच लामो समयसम्म खुला स्थानमा लाइन बस्नुपर्दा वृद्धवृद्धा, महिला तथा बालबालिका बढी प्रभावित भएका छन्। कतिपय सेवाग्राही बेहोस हुने अवस्था समेत सिर्जना भएको बताइएको छ । यमुनामाई गाउँपालिकाबाट राहदानी बनाउन आएका सेवाग्राही राजन पटेलले कार्यालयको व्यवस्थापन कमजोर हुँदा नागरिकले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरे। “सेवाग्राहीको चापअनुसार कर्मचारी र व्यवस्थापन बढाउनुपर्छ, अहिलेको अवस्था निकै कष्टकर छ,” उनले भने ।
यता राष्ट्रिय परिचयपत्र सेवाको अवस्था पनि उस्तै अव्यवस्थित रहेको सेवाग्राहीहरूको भनाइ छ। लामो समयअघि विवरण दर्ता गराएका नागरिकले स्मार्ट कार्ड तयार भए–नभएको जानकारी लिन खोज्दा समेत स्पष्ट जवाफ नपाएको गुनासो गरेका छन् । चन्द्रपुरका अनिल तामाङले राष्ट्रिय परिचयपत्रको अवस्थाबारे बुझ्न खोज्दा सम्बन्धित कर्मचारीबाट समेत स्पष्ट जानकारी नपाएको बताए। “स्मार्ट कार्ड आयो कि आएन भन्ने विषयमा कर्मचारी स्वयं अनभिज्ञ देखिनु दुःखद हो,” उनले भने । सेवाग्राहीहरूले राहदानी र राष्ट्रिय परिचयपत्र जस्ता अत्यावश्यक सेवामा देखिएको अव्यवस्था तत्काल सुधार गर्न, पर्याप्त कर्मचारी व्यवस्थापन गर्न तथा प्रतीक्षारत नागरिकका लागि छायाँ, खानेपानी र बस्ने उचित व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

ताजा समाचार

Related Articles