गैडाटार १७ जेष्ठ
मधेश प्रदेश सरकारबाट विनियोजित २० लाख रुपैयाँको खेल मैदान स्तरोन्नति योजना राजनीतिक विवाद र बिचौलियाको चलखेलका कारण अन्योलमा परेको छ । चन्द्रपुर नगरपालिका–३ स्थित गैडाटार बजारमा रहेको कछडिया समाज युवा क्लबको खेल मैदान निर्माणका लागि आएको बजेट कार्यान्वयन प्रक्रिया नै अवरुद्ध भएपछि रकम फ्रिज हुने जोखिम बढेको छ । प्राप्त जानकारी अनुसार प्रदेश सरकारबाट आएको योजना कार्यान्वयन सम्बन्धी पत्र वडा नं. ३ कार्यालयमा पुगेपछि वडा अध्यक्ष र वडा सचिवको उपस्थितिमै निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । समिति गठन भइसकेको अवस्थामा उक्त पत्र वडा अध्यक्षको निर्देशनमा फिर्ता पठाइएको र पुनः पत्र आएपछि नयाँ समिति गठन गर्नुपर्ने धारणा राखिएको बताइएको छ ।
स्थानीयवासीका अनुसार एक राजनीतिक दलसँग आबद्ध केही व्यक्तिहरू आफू निकट कार्यकर्तालाई उपभोक्ता समितिमा समावेश गर्न नसकेको असन्तुष्टिका कारण योजना कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाएका छन् । यद्यपि यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ । वडा सचिव ज्ञान प्रसाद चौलागाईंका अनुसार आर्थिक वर्ष समाप्त हुनुअघि अर्थात् असार मसान्तभित्र योजना सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको छ । समयमै काम सुरु हुन नसके बजेट फ्रिज हुने सम्भावना रहेको उहाँले बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमरले विधिसम्मत रूपमा गठन भएको समितिलाई अमान्य बनाउने प्रयास भएको आरोप लगाउँदै फिर्ता पठाइएको पत्र तत्काल फिर्ता ल्याएर निर्माण कार्य अघि बढाउन माग गर्नुभएको छ । “वडा अध्यक्ष र सचिवकै उपस्थितिमा गठन भएको समिति कसरी अवैध हुन्छ ? यदि प्रक्रिया पूरा भएको समिति मान्य हुँदैन भने यसको जवाफ कसले दिने ?” उहाँको प्रश्न छ ।
स्थानीयवासीहरूले पनि विकासका लागि आएको बजेट व्यक्तिगत स्वार्थ, राजनीतिक प्रभाव र बिचौलियाको दबाबका कारण रोकिँदा गैडाटारको समग्र विकास प्रभावित भएको गुनासो गरेका छन् । खेलकुद पूर्वाधार निर्माणको अवसर गुम्न लागेको भन्दै उनीहरूले सम्बन्धित निकायको तत्काल हस्तक्षेपको माग गरेका छन् । लस्थानीयका अनुसार योजना कार्यान्वयनमा भएको ढिलाइले युवाहरूको बहुप्रतीक्षित खेल मैदान निर्माण कार्य प्रभावित भएको छ । उनीहरूले प्रदेश सरकार, स्थानीय सरकार, सम्बन्धित मन्त्रालय तथा जनप्रतिनिधिहरूलाई यथाशीघ्र समस्या समाधान गरी योजना कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन् ।
विकासभन्दा माथि राजनीति हुँदा गैडाटारले खेल मैदान गुमाउने अवस्था सिर्जना हुनु स्थानीयका लागि चिन्ताको विषय बनेको छ । अब सम्बन्धित निकायले समयमै निर्णय लिएर योजना बचाउने कि बजेट फ्रिज हुन दिने भन्ने प्रश्न आम नागरिकमाझ उठ्न थालेको छ ।

