रौतहट १७ जेष्ठ
विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा रौतहटमा मादक पदार्थ तथा लागुऔषधको नियन्त्रण र न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रभातफेरी, अन्तरक्रिया तथा पैरवी कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत चन्द्रनिगाहपुर क्षेत्रमा प्रभातफेरी निकाल्दै सुर्तिजन्य पदार्थ, मदिरा तथा लागुऔषध सेवनका नकारात्मक असरबारे जनचेतना फैलाइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले स्वस्थ समाज निर्माणका लागि सुर्तिजन्य पदार्थ र लागुऔषधमुक्त वातावरण आवश्यक रहेको बताउँदै युवापुस्तालाई यस्ता कुलतबाट टाढा राख्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । त्यसैगरी प्रहरी उपरीक्षक सिताराम रिजालसहित सुरक्षा निकायका प्रमुखहरूले लागुऔषध दुर्व्यसन नियन्त्रणमा समुदाय, विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहने बताएका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुर्तिजन्य पदार्थ तथा लागुऔषधको बढ्दो प्रयोग रोक्न विद्यालयस्तरदेखि नै प्रभावकारी सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमले युवाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै कुलतविरुद्ध सामाजिक एकता आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ ।

