१० वर्षपछि गैडाटार खानेपानी उपभोक्ता समितिको साधारण सभा हुदै

गैडाटार १५ जेष्ठ
रौतहटको गैडाटार खानेपानी उपभोक्ता समितिको बहुप्रतिक्षित वार्षिक साधारण सभा अन्ततः हुने भएको छ । २०७१ सालमा खानेपानी ट्याङ्की निर्माण तथा सञ्चालनको उद्देश्यसहित गठन गरिएको उक्त समितिले स्थापना भएको एक दशकपछि पहिलोपटक औपचारिक साधारण सभा आयोजना गर्न लागेको हो ।
समितिका अध्यक्ष हरी प्रसाद आचार्यद्वारा शुक्रबार जारी गरिएको सूचनाअनुसार आगामी २०८३ साल असार १७ गते साधारण सभा आयोजना गरिने भएको छ । लामो समयसम्म साधारण सभा नगरेको भन्दै स्थानीय उपभोक्ताहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए । विशेषगरी गैडाटारका सचेत युवा समूहले समितिलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदै समयमै साधारण सभा गर्न दबाब दिँदै आएको थियो । विभिन्न चरणका छलफल, खबरदारी तथा चेतावनीपछि समितिले अन्ततः साधारण सभा गर्ने निर्णय सार्वजनिक गरेको हो । स्थानीयवासीहरूले खानेपानीजस्तो अत्यावश्यक सेवासँग सम्बन्धित समितिले पारदर्शिता र जवाफदेहितामा ध्यान दिनुपर्ने माग गर्दै आएका थिए । उनीहरूले आय–व्यय विवरण सार्वजनिक गर्न, उपभोक्ताको सहभागिता सुनिश्चित गर्न तथा समितिको गतिविधिलाई नियमित बनाउन जोड दिएका छन् । यसैबीच समितिले साधारण सभामा सहभागी हुनुअघि उपभोक्ताहरूलाई बाँकी रहेको बक्यौता रकम २०८३ साल जेठ २९ गतेभित्र बुझाउन आग्रह गरेको छ । समितिका अनुसार बक्यौता रकम संकलनपछि संस्थाको आर्थिक अवस्था स्पष्ट पार्दै आगामी योजना तथा व्यवस्थापनबारे साधारण सभामार्फत छलफल गरिनेछ ।
१० वर्षपछि हुन लागेको यो साधारण सभालाई स्थानीयवासीले खानेपानी व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र सुधारको नयाँ सुरुवातका रूपमा समेत हेरेका छन् ।

ताजा समाचार

Related Articles