रौतहट १४ जेष्ठ
रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा बिहीबार बिहान अज्ञात व्यक्तिले एक ट्याक्टरमा आगजनी गरेका छन् । स्थानीय बालशंकर कुस्वाहाले आफ्नै घरमा पार्किङ गरेर राखेको ट्याक्टरमा राति करिब २ बजेतिर पेट्रोल छर्केर आगो लगाइएको बताइएको छ । आगलागीबाट ट्याक्टर पूर्ण रूपमा जलेर काम नलाग्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । घटनापछि क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ । स्थानीयवासीले दोषी जो–कोही भए पनि तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । आगजनीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

