रौतहट, १३ जेठ । रौतहटको गरुडा नगरपालिका–८ स्थित एक विद्यालयको भवन सोमबार साझ आएको हावाहुरीका कारण क्षतिग्रस्त भएको छ । हावाहुरीले विद्यालय भवनको छाना उडाउँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालयले जनाएको छ ।
विद्यालयकी प्रधानाध्यापक बन्दना देवीका अनुसार तीव्र हावाहुरीका कारण भवनको छाना पूर्ण रुपमा उडेको हो । छाना उडेपछि विद्यालयमा रहेका कम्प्युटर, डिजिटल शिक्षण सामग्री तथा अन्य शैक्षिक उपकरणहरुमा समेत क्षती पुगेको छ ।
भवन क्षतिग्रस्त भएपछि विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक देवीले बताउनुभयो । उहाँका अनुसार कक्षाकोठा सुरक्षित नरहेकाले विद्यार्थीको अध्ययन–अध्यापन प्रभावित बनेको छ । चर्को घामका कारण खुल्ला आकाशमुनि पठाउन गर्न सक्ने अवस्था नरहेकोले दुइदिनदेखि पठनपाठन प्रभावित भएको उहाँले बताउनुभयो ।
विद्यालय प्रशासनले सम्बन्धित निकायलाई क्षतिको विवरणसहित निवेदन दिँदै भवन मर्मत तथा आवश्यक व्यवस्थापनका लागि सहयोगको माग गरेको जनाएको छ । विद्यार्थीहरुको अध्ययनलाई नियमित र सुरक्षित बनाउन तत्काल राहत, मर्मत तथा पुनःनिर्माणका लागि पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिएको प्रधानाध्यापक देवीले जानकारी दिनुभयो ।

