विश्व महिनावारी स्वच्छता दिवस : चन्द्रपुरमा किशोरी तथा महिलामाझ सचेतना कार्यक्रम

रौतहट १३ जेष्ठ
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर किशोरी तथा महिलाहरूलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । छोरी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा महिनावारीलाई प्राकृतिक जैविक प्रक्रिया भएको भन्दै यसप्रति समाजमा रहेका भ्रम र विभेद हटाउन आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा सहभागी किशोरी तथा महिलाहरूलाई महिनावारीका समयमा अपनाउनुपर्ने सरसफाइ, सुरक्षित स्यानिटरी सामग्रीको प्रयोग तथा प्रयोगपछि वातावरणमैत्री व्यवस्थापनका उपायबारे जानकारी दिइएको आयोजकले जनाएको छ । साथै कार्यक्रममा सहभागीहरूलाई स्यानिटरी प्याड समेत वितरण गरिएको थियो । वक्ताहरूले महिनावारीलाई अपवित्र वा लाजको विषयका रूपमा हेर्ने सामाजिक सोच अझै कायम रहेकाले महिला तथा किशोरीहरू विभिन्न समस्या भोग्न बाध्य भइरहेको बताएका थिए । उनीहरूले महिनावारी स्वच्छता महिला स्वास्थ्य, सम्मान र अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले समुदायस्तरमै निरन्तर जनचेतना आवश्यक रहेको उल्लेख गरे । आयोजक संस्थाका अनुसार पर्याप्त सचेतनाको अभावमा धेरै किशोरीहरू महिनावारीका बेला विद्यालय जान तथा सार्वजनिक गतिविधिमा सहभागी हुन असहज महसुस गर्ने गरेका छन् । असुरक्षित सामग्री प्रयोग गर्दा स्वास्थ्य जोखिम समेत बढ्ने भएकाले सुरक्षित र स्वच्छ अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) लगायत अन्तर्राष्ट्रिय संस्थाहरूले पनि महिनावारी स्वच्छतालाई सार्वजनिक स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित महत्वपूर्ण विषयका रूपमा लिएका छन् । सन् २०१४ देखि विश्वभर मनाउन थालिएको यो दिवस हाल १०० भन्दा बढी देशमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइँदै आएको छ ।

ताजा समाचार

Related Articles