रौतहट ३१ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेपछि अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समुदाय आन्दोलित बनेका छन् । सुकुम्बासीको पक्षमा आदिवासी जनजाति महासंघ रौतहट खुला रूपमा उभिएपछि चन्द्रपुरको अवस्था थप तनावग्रस्त बनेको छ । गत वैशाख २४ गते चन्द्रपुर नगरपालिका ले सूचना जारी गर्दै अतिक्रमण गरिएका सार्वजनिक तथा सरकारी जग्गामा निर्माण भएका घरटहरा ३५ दिनभित्र हटाउन निर्देशन दिएको थियो । उक्त सूचनाविरुद्ध बिहीबार आदिवासी जनजाति महासंघ रौतहट तथा चन्द्रपुर नगर समितिको संयुक्त नेतृत्वमा नगरपालिकासहित इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर र डिभिजन वन कार्यालय चन्द्रपुरमा नाराबाजीसहित ज्ञापनपत्र बुझाइएको हो ।
आन्दोलनकारीहरूले “३५ दिने सूचना खारेज गर”,“डोजर आतंक बन्द गर”, “जग्गा कस्को ? जोत्नेको !”, “घर कस्को ? पोत्नेको !”,“सूचना निकाल्ने मेयर मुर्दावाद !” जस्ता चर्का नाराबाजी गरेका थिए । आन्दोलनकारीहरूले व्यवस्थापनको विकल्प नदिई सुकुम्बासी बस्तीमाथि डोजर चलाउन खोजिए द्वन्द्व सिर्जना हुने चेतावनी दिएका छन् । प्रदर्शनकारीहरू नाराजुलुससहित नगरपालिकामा पुगेका बेला नगर प्रमुख संजय कुमार काफ्ले कार्यालयमा अनुपस्थित रहेको भन्दै आक्रोश झन् चुलिएको थियो । आन्दोलनकारीहरूले मेयर “फरार” भएको आरोप लगाउँदै तत्काल उपप्रमुख जयमाला चौधरी लाई कार्यालयमा बोलाउन दबाब दिएका थिए ।
नगर प्रमुख र उपप्रमुख दुवै कार्यालयमा उपस्थित नभएपछि आक्रोशित समूहले नगरपालिकामा ताला लगाउने प्रयास समेत गरेको थियो । पछि उपप्रमुख कार्यालय आउने आश्वासन दिएपछि स्थिति केही सामान्य बनेको थियो । आदीवासी जनजाती महासंघ रौतहटका अध्यक्ष नरेन्द्र राना मगर ले नगरपालिका, इलाका प्रशासन र वन कार्यालयलाई डोजर आतंक बन्द गर्न सांकेतिक रूपमा ज्ञापनपत्र बुझाइएको जानकारी दिए । उनले नागरिकलाई विस्थापित बनाउने गरी गरिएको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
यस्तै आदीवासी जनजाती महासंघ चन्द्रपुर नगर अध्यक्ष राजु धामी ले ३५ दिने सूचना तत्काल खारेज नगरिए आन्दोलन थप कडा हुने चेतावनी दिएका छन् । “यदि जबर्जस्ती डोजर चलाइयो भने अनसन, सडक जामदेखि थप सशक्त आन्दोलन र तोडफोडसम्मको अवस्था आउन सक्छ,” उनले भने ।
उता आन्दोलनरत सुकुम्बासीहरूले पनि आफ्नो घरमा डोजर चलाउने प्रयास गरिए जनप्रतिनिधि र कर्मचारीहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चन्द्रपुरमा सुकुम्बासी बस्ती हटाउने विषय अहिले सामाजिक र राजनीतिक रूपमा संवेदनशील बन्दै गएको छ ।

