रौतहट, ८ जेठ । नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका रौतहटको वृन्दावन नगरपालिकाका नगर सभापति अरविन्द सहनी एक सातामै पुनः कांग्रेसमै फर्किएका छन् ।
सहनी गत जेठ ३ गते रास्वपाका प्रवक्ता मनिष झाको हातबाट टिकाटालो ग्रहण गर्दै पार्टी प्रवेश गरेका थिए । तर, पार्टी प्रवेश गरेको एक हप्ता नबित्दै उनले पुनः नेपाली कांग्रेसमै फर्किने निर्णय गरेका हुन् ।
सहनीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवप्रसाद तिमल्सिनाले स्वागत गर्दै पुनः पार्टीमा प्रवेश गराएका हुन् ।
वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति यादवका अनुसार सहनी पुनः कांग्रेसमा फर्किएसँगै नगर सभापतिको जिम्मेवारीमै कायम रहनेछन् ।
पार्टीमा पुनः फर्किने क्रममा सहनीले आफू “बाटो बिराएर” रास्वपामा पुगेको बताएका छन् । उनले कांग्रेस नै आफ्नो राजनीतिक आधार र आस्था भएको उल्लेख गर्दै आगामी दिनमा पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
सहनीको पुनरागमनलाई कांग्रेस वृत्तमा सकारात्मक रूपमा हेरिएको छ । स्थानीय तहको राजनीतिमा प्रभाव राख्ने नेताको रूपमा चिनिएका सहनीको फिर्तीले वृन्दावन क्षेत्रको कांग्रेस संगठन थप मजबुत हुने नेताहरूको विश्वास छ ।

