चन्द्रपुरमा सुकुम्बासी आन्दोलन चर्किंदै ३५ दिने सूचनाविरुद्ध आदिवासी जनजाति महासंघ एक्सनमा, नगरपालिका घेराउको चेतावनी

चन्द्रनिगाहपुर २९ बैशाष
रौतहटको चन्द्रपुर नगरपालिकाले अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई ३५ दिनभित्र घर–टहरा हटाउन सूचना जारी गरेपछि स्थानीयस्तरमा आन्दोलन चर्किन थालेको छ । पीडित सुकुम्बासीहरुको पक्षमा उभिँदै आदिवासी जनजाति महासंघ रौतहटले पहिलो चरणमै नगरपालिका घेराउसहित ज्ञापन पत्र बुझाउने घोषणा गरेको छ । मंगलबार चन्द्रपुर–४ स्थित हातेमालो सामुदायिक वनको सभा हलमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको बृहत भेलाले नगरपालिकाको कदमप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै “व्यवस्थापनबिनाको डोजर स्वीकार्य नहुने” चेतावनी दिएको हो । भेलामा सहभागी सुकुम्बासीहरुले आफूहरूमाथि राज्यले दमन गर्न खोजेको आरोप लगाउँदै “जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहेको” बताएका छन् ।
भेलामा बोल्दै चन्द्रपुर–३ का सुकुम्बासी प्रेम तामाङले लोकतान्त्रिक व्यवस्थामा नागरिकको गाँस, बास र कपासको अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै व्यवस्थापनबिनै घरबार भत्काउने नीति अमानवीय र तानाशाही प्रवृत्तिको उदाहरण भएको बताए । उनले गरिब, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई सडकमा पुर्‍याउने कार्य कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिए ।
भेलाले तत्काल नगरपालिकाले जारी गरेको ३५ दिने सूचना खारेज गर्न माग गर्दै देशभरका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरुको दीर्घकालीन व्यवस्थापनसहित समस्या समाधानको बाटो खोज्न स्थानीय सरकारसँग आग्रह गरेको छ । उता आदिवासी जनजाति महासंघ रौतहटले पनि नगरपालिकाको कदमप्रति आपत्ति जनाउँदै आम नागरिकको पक्षमा आफूहरू उभिएको जनाएको छ । महासंघले पहिलो चरणअन्तर्गत २०८३ वैशाख ३१ गते बिहीबार चन्द्रपुर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

महासंघका नेताहरूले ज्ञापन पत्रको बेवास्ता गरिए थप कडा संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् । अहिले चन्द्रपुर क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव बढ्दै गएको छ भने स्थानीय सरकार र पीडित पक्षबीच टकरावको अवस्था सिर्जना हुने संकेत देखिएको छ ।

ताजा समाचार

Related Articles