रौतहट १२ बैशाष
राैतहटकाे माैलापुरमा बिजुली, खानेपानी तथा विवाहसम्बन्धी सामाजिक सहयोग शीर्षकमा उपलब्ध गराइने रकम लामो समयदेखि रोकिएको भन्दै मौलापुर नगरपालिकाविरुद्ध स्थानीयवासीले आन्दोलन घोषणा गरेका छन् । स्थानीय स्तरमा गठन गरिएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाबाट हुने सेवा प्रवाहमा ढिलाइ र बेवास्ता भएको आरोप लगाएको छ । समितिका अनुसार नागरिकले पाउनुपर्ने विभिन्न शीर्षकका भुक्तानी समयमै नहुँदा दैनिक जीवनमा समस्या उत्पन्न भएको छ । संघर्ष समितिले तुरुन्तै रोकिएको रकम भुक्तानी गर्न, सेवा प्रक्रियालाई छिटो र पारदर्शी बनाउन तथा नागरिकप्रति उत्तरदायी बन्न नगरपालिका समक्ष माग राखेको छ। माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ।
यता नगरपालिकाको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
मौलापुर नगरपालिकामा बिजुली, पानी तथा विवाहसम्बन्धी बाँकी भुक्तानी दिलाउन माग गर्दै गठन गरिएको संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष भोला पाण्डेयले चरणबद्ध आन्दोलनको तालिका घोषणा गर्दै नगरपालिकाप्रति दबाब बढाउने रणनीति अघि सारिएको जानकारी दिए । समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख १३ गतेदेखि टोल–टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन गरिनेछ भने वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाइनेछ । त्यसैगरी वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने र माग पूरा नभए जेठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिइएको छ । संघर्ष समितिले लामो समयदेखि रोकिएको भुक्तानीले स्थानीय नागरिकलाई समस्या परेको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनलाई अझ सशक्त बनाइने समेत समितिले जनाएको छ ।

