रुपेन्द्र पटेल
रौतहट, १३ वैशाख । पछिल्लो केही दिनदेखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको रौतहटसहित तराई–मधेशका जिल्लामा आइतबार बिहान परेको वर्षाले केही राहत दिएको छ । बिहानै ८ देखि सुरु भएको ११ बजेसम्म वर्षासँगै चलेको चिसो हावाले तापक्रम घटाउँदा स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।
गत सातादेखि निरन्तर बढिरहेको तापक्रमका कारण दैनिक कामकाजमा समेत असर परेको थियो । अत्यधिक गर्मीका कारण बजार क्षेत्रमा चहलपहल घटेको थियो भने सरकारी कार्यालयमा समेत उपस्थिति कम देखिएको थियो । किसानहरू पनि खेतबारीको काम गर्न कठिनाइ भोगिरहेका थिए ।
आइतबार बिहान परेको वर्षाले वातावरण शीतल बनेपछि सर्वसाधारणले केही सहजता अनुभव गरेका छन् । विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बाहिर काम गर्ने श्रमिकलाई राहत पुगेको स्थानीयको भनाइ छ । वर्षासँगै धुलो र प्रदूषण समेत केही हदसम्म कम भएको छ ।
यद्यपि मौसमविद्हरूले अझै केही दिन गर्मी कायम रहने र बेलाबेलामा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन् । अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन उनीहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

