रौतहट डिभिजन वन कार्यालयविरुद्ध गम्भीर आरोप, निष्पक्ष छानबिनको माग

रौतहट १२ बैशाष
रौतहट डिभिजन वन कार्यालयविरुद्ध गम्भीर आरोपसहित मधेश प्रदेश सरकारसमक्ष उजुरी दर्ता गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल कुमार यादवले वन तथा वातावरण मन्त्रालय मार्फत मुख्यमन्त्री समक्ष उजुरी पेस गरेका हुन् । उजुरीमा डिभिजन वन प्रमुख हेमन्त साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा काठ तस्करीलाई संरक्षण दिएको गम्भीर आरोप लगाइएको छ । सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियतमा काठ नदिई स–मिलहरूसँग गोप्य सहकार्य गरिएको तथा प्रतिफिट कमिशन लिने गरिएको दाबी उजुरीमा उल्लेख छ । यस्तै, सामुदायिक तथा साझेदारी वनका लागि छुट्याइएको करिब २० लाख रुपैयाँ दुरुपयोग गरिएको, विभिन्न उपभोक्ता समूहको खाताबाट रकम निकालेर अपारदर्शी रूपमा खर्च गरिएको भन्दै बैंक विवरण तथा अडिट जाँचको माग गरिएको छ । उजुरीमा गैँडाटार क्षेत्रमा करिब पाँच हेक्टर जंगल फँडानी गरी घुस लिएको, प्रमाण मेटाउन वृक्षारोपण गरिएको तथा कागजात नष्ट गर्न आगजनी गराइएको आरोपसमेत समावेश छ । नुनथर क्षेत्रमा कानुन विपरीत संरचना निर्माण गराउन आर्थिक चलखेल भएको तथा वन क्षेत्रमा व्यापक तस्करी र अवैध फँडानी भइरहँदा प्रभावकारी अनुगमन नभएको भन्दै सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाइएको छ । उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिइएको छ । निष्पक्ष छानबिन नभए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी उजुरीकर्ताले दिएका छन् । उजुरी बुझ्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन । उनले वन क्षेत्रमा भइरहेका अवैधानिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै छानबिन प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा समाचार

Related Articles