रौतहट । मधेश प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रलाई सूचना प्रविधि (आईसीटी) सामग्री हस्तान्तरण गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोग तथा गुड नेबर्स इन्टरनेशनल नेपालको साझेदारीमा ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित ‘सेफ गर्ल्स’ परियोजना अन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको हो।
शुक्रबार आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले प्रादेशिक स्वास्थ्य तालिम केन्द्र (PHTC), मधेश प्रदेशलाई आईसीटी सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीहरूमा दुई थान ल्यापटप, दुई थान प्रिन्टर तथा दुई सेट प्रोजेक्टर र प्रोजेक्टर स्क्रिन रहेका छन्।
कार्यक्रममा गुड नेबर्स इन्टरनेशनल नेपाल, मधेश प्रदेशका संयोजक संजीव कुमार, ग्रामीण विकास केन्द्र नेपालका कार्यकारी निर्देशक आशिष कुमार सिंह, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोज चन्द्र न्यौपाने, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजीव कुमार झा, सेफ गर्ल्स परियोजनाकी संयोजक प्रिया चौरसिया लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक विपिन कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै सहभागीहरूले ‘सेफ गर्ल्स’ परियोजनाले मधेश प्रदेशका किशोरी तथा युवतीहरूको स्वास्थ्य, शिक्षा तथा सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। साथै, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्दै किशोरमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गुड नेबर्स इन्टरनेशनल नेपाल, मधेश प्रदेशका संयोजक संजीव कुमारले हस्तान्तरण गरिएका आईसीटी सामग्रीहरू स्वास्थ्यसम्बन्धी तालिम तथा विभिन्न कार्यक्रम सञ्चालनमा उपयोग गरिने जानकारी दिनुभयो। प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख विपिन कुमार साहले कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, गुड नेबर्स इन्टरनेशनल नेपाल तथा ग्रामीण विकास केन्द्र नेपालप्रति सामग्री सहयोगका लागि आभार व्यक्त गर्दै प्राप्त सामग्रीलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
‘सेफ गर्ल्स’ परियोजनामार्फत किशोरी तथा युवतीहरूका लागि सुरक्षित, सक्षम तथा सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।


