सेफ गर्ल्स परियोजना: हानिकारक अभ्यास अन्त्यका लागि अन्तर–धार्मिक अगुवाहरूको दुई दिने कार्यशाला सम्पन्न

रौतहट । रौतहट (गौर, राजपुर, परोहा, यमुनामाई र देवाहीगोनाही नगरपालिका) तथा सर्लाही (बसबरिया, हरिपुरवा र कौडेना नगरपालिका) जिल्लाका विभिन्न समुदायमा विद्यमान हानिकारक सामाजिक अभ्यास न्यूनीकरण गर्ने उद्देश्यले ‘सेफ गर्ल्स’ परियोजना अन्तर्गत अन्तर–धार्मिक अगुवाहरूको संयुक्त दुई दिने कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यशाला २०८२ चैत १५ र १६ गते सफलतापूर्वक आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न धर्मका अगुवा, समुदाय प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। उद्घाटन सत्रमा जमीयत उलेमा नेपालका प्रतिनिधि अनवरुल हकको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गुड नेबर्स इन्टरनेशनल नेपालका प्रान्तीय संयोजक संजिव कुमार सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता आरडीसी नेपालका अध्यक्ष पारस हुसेनले गरेका थिए।
उद्घाटन सत्रमा वक्ताहरूले समुदायमा जरा गाडेका हानिकारक सामाजिक अभ्यास अन्त्य गर्न धार्मिक तथा सामुदायिक अगुवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका थिए। साथै, लैङ्गिक समानता प्रवर्द्धन, बालविवाह अन्त्य तथा किशोरीहरूको अधिकार संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरिएको थियो।
कार्यक्रमको पहिलो दिन हानिकारक सामाजिक मान्यताहरू तथा तिनका कानुनी पक्षबारे जानकारी दिइनुका साथै किशोरीहरूलाई असर गर्ने परम्परागत अभ्यासहरूबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो। सामाजिक मान्यता, विश्वास प्रणाली तथा समुदायका प्रभावकारी पक्षहरूबारे खेलमार्फत सिकाइ गराइएको थियो भने धार्मिक शिक्षाहरू र बालविवाहबीचको सम्बन्धबारे पनि गहन छलफल भएको थियो।
दोस्रो दिन धार्मिक अगुवाहरूको भूमिका तथा पालिका स्तरमा बालविवाह अन्त्यका रणनीतिहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले प्रभावकारी मुख्य सन्देशहरू विकास गर्दै बालविवाह अन्त्य गर्ने, त्यसमा सहभागी नहुने र यस विरुद्ध सक्रिय पहल गर्ने विषयमा संयुक्त घोषणा तयार पारेका छन्। साथै ‘सेफ गर्ल्स’ परियोजनालाई सहयोग तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहभागीहरूले कार्ययोजना अन्तिम रूप दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तथा फलोअप संयन्त्र निर्माण गर्ने सहमति गरेका छन्। सिकाइलाई व्यवहारमा उतार्दै स्थानीय तहमा अभियानलाई थप सुदृढ गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
कार्यक्रम अत्यन्तै सहभागितामूलक, अन्तरक्रियात्मक र सिकाइ–केन्द्रित रहेको थियो। सहभागीहरूले आफ्ना अनुभव, विचार तथा धारणा साझा गर्दै हानिकारक अभ्यास अन्त्यतर्फ सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा सहजकर्ताको रूपमा सञ्जय खड्का र नाहिदा बानुको सहजीकरण रहेको थियो।

ताजा समाचार

Related Articles