रौतहट,६ बैशाख । “न्याय तपाईको घरदैलोमा” भन्ने नारासहित राष्ट्र निर्माण मञ्च नेपालले रौतहटको चन्द्रपुर नगरपालिकामा आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक सञ्चालन गरेको छ । बैशाख ३ गतेबाट सुरु भएको उक्त कार्यक्रम चन्द्रपुर नगरपालिकाको सहकार्य र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा सञ्चालन भइरहेको हो ।
संस्थाका कार्यक्रम संयोजक प्रज्वल बस्ताकोटीका अनुसार घुम्ती क्लिनिक हालसम्म नगरपालिकाको वडा नं. ३, ५ र ६ मा सम्पन्न भइसकेको छ भने अन्य वडाहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ । उहाँका अनुसार यस कार्यक्रममार्फत वैदेशिक रोजगार, मानव बेचबिखन, मानव तस्करी तथा अन्य कानुनी विषयमा जानकारी तथा परामर्श सेवा प्रदान गरिएको छ ।
वडा नं. ६ का अध्यक्ष सहदेव केसीले घुम्ती क्लिनिकमार्फत स्थानीयवासीलाई आवश्यक सूचना तथा कानुनी परामर्श उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीमा जाने, फर्किएका तथा यसबारे जानकारी लिन चाहने युवा, महिला तथा परिवारका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता निर्मल कुमार उप्रेती र अधिवक्ता कृष्ण न्यौपानेले सहजीकरण गर्नुभएको थियो । साथै राष्ट्र निर्माण मञ्च नेपालका सचिव सुन्दर लाल थिङ, रोनिशा जोशी, स्थानीय समाजसेवी प्रतिक्षा कार्की लगायत अधिकारकर्मी तथा भद्रभलादमीहरूको समेत उपस्थिति रहेको थियो ।
यसैबीच, संस्थाले सामुदायिक आप्रवासन विद्यालय कार्यक्रम पनि नगरपालिकाका सबै माध्यमिक विद्यालयहरूमा सञ्चालन गर्ने जनाएको छ । हालसम्म उक्त कार्यक्रममार्फत २३२ जना प्रत्यक्ष रूपमा सहभागी भइसकेको सचिव सुन्दर लाल थिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैदेशिक रोजगार, मानव बेचबिखन लगायतका कुनै पनि समस्या परेमा सम्बन्धित संस्थासँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

