किशोरी तथा युवतीका लागि ‘सेफ गर्ल्स’ तालिम चन्द्रनिगाहपुरमा सुरु

रुपेन्द्र पटेल
रौतहट, ६ वैशाख । किशोरी तथा युवतीका लागि सुरक्षित एवं सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले ‘सेफ गर्ल्स’ परियोजनाअन्तर्गत सेवा प्रदायक लक्षित पाँच दिने तालिम रौतहटको चन्द्रनिगाहपुरमा सुरु भएको छ ।
गौर, राजपुर, परोहा, यमुनामाई र देवाही गोनाही नगरपालिका क्षेत्रका सामुदायिक मनोसामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी तथा मेन्टरहरूको सहभागितामा सञ्चालन भइरहेको उक्त तालिम किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी स्रोत विश्लेषणमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।
ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालका अनुसार तालिममार्फत किशोर–किशोरीहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य सेवा प्रदान गर्न सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ ।
कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को आर्थिक तथा प्राविधिक सहयोगमा गुड नेबर्स इन्टरनेशनल नेपाल र ग्रामीण विकास केन्द्र नेपालको संयुक्त सहकार्यमा सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गुड नेबर्स इन्टरनेशनल नेपालका प्रादेशिक संयोजक सञ्जीव कुमारले किशोरी तथा युवतीहरूको स्वास्थ्य र सुरक्षामा लगानी गर्नु भनेको समग्र समाजको भविष्य सुरक्षित गर्नु भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता तालिमहरूले सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि भई प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा आरडिसी नेपालका अध्यक्ष डा. परास हुसेनले स्थानीय तहमा किशोर–किशोरी मैत्री सेवा विस्तारका लागि यस्ता तालिम अपरिहार्य रहेको बताउँदै सहभागीहरूले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न सके मात्र कार्यक्रमको उद्देश्य सार्थक हुने धारणा राख्नुभयो ।
आयोजकका अनुसार तालिम अवधिभर सहभागीहरूलाई किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य समस्याको पहिचान, मनोसामाजिक सहयोगका उपाय तथा उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोगबारे प्रशिक्षण दिइनेछ । साथै, स्थानीय तहमा सेवा प्रवाहलाई अझ प्रभावकारी र समन्वयात्मक बनाउने विषयमा समेत छलफल गरिनेछ ।
कार्यक्रमको सञ्चालन आरडिसी नेपालको ‘सेफ गर्ल्स’ परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकारी सौगात थापाले गर्नुभएको थियो भने पाँच दिनसम्म सञ्चालन हुने तालिममा मनोविद् बिपिन थापाले प्रशिक्षण दिइरहनुभएको छ ।
उक्त कार्यक्रमले विशेषगरी किशोरी तथा युवतीहरूको स्वास्थ्य, सुरक्षा तथा समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles