रौतहट ४ बैशाष
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बसमा यात्रा गरिरहेकी एक महिला यात्रुको पर्सबाट नगद चोरी गरेर फरार हुन खोज्ने एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शुक्रबार दिउँसो भएको उक्त घटनामा, महिला यात्रुको पर्सबाट १४ हजार ५०० रुपैयाँ चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले ती व्यक्तिलाई लखेटेर समातेको हो । प्रहरी सहायक निरीक्षक मेरुलालप्रसाद गुप्ताको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि तत्कालै पछ्याउँदै उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । रोचक कुरा के छ भने, चोरीमा संलग्न व्यक्ति पनि सोही बसका यात्रु बनेर यात्रा गरिरहेका थिए । चोरीपछि उनले रकम जुत्ताभित्र लुकाएर उम्किन खोजेका थिए, तर प्रहरीले चेकजाँच गर्दा उक्त रकम बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

