रौतहट ४ बैशाष
बृन्दावन नगरपालिकाले निर्माणाधीन प्रशासकीय भवनको जग्गामा गरिएको अतिक्रमण हटाउँदै विकास निर्माण कार्यलाई तीव्रता दिएको छ । शुक्रबार नगर प्रमुख विनोद प्रसाद कुर्मी स्वयं स्थलगत रूपमा उपस्थित भई वडा नं. २ अन्तर्गत बजार टोलस्थित किता नं. ३४ को जग्गामा गरिएको अतिक्रमण हटाउने कार्यको नेतृत्व गर्नुभएको हो । उक्त जग्गाको केही भागमा अवैध रूपमा निर्माण गरिएका घर–टहराका कारण नगर कार्यपालिकाको बहुप्रतीक्षित प्रशासकीय भवन निर्माण कार्य लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो । नगरपालिकाले पटक–पटक सूचना तथा आग्रह गर्दा समेत अतिक्रमण हटाउन नमानेपछि अन्ततः डोजर प्रयोग गरी ती संरचना हटाइएको जनाइएको छ। शुक्रबारको कार्यवाहीमा २ वटा घर–टहरा हटाइएका छन्, जसले निर्माण कार्यमा देखिएको मुख्य अवरोध अन्त्य गरेको छ । करिब ६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त प्रशासकीय भवन बृन्दावन नगरपालिकाको सेवा प्रवाह सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण परियोजना हो। भवन निर्माण सम्पन्न भएपछि एउटै स्थानबाट प्रभावकारी, व्यवस्थित र छिटो सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै विकास निर्माणलाई प्राथमिकता दिएको भन्दै नगर प्रमुख कुर्मीको कदमको स्थानीयस्तरमा प्रशंसा गरिएको स्थानियले बताएका छन ।

