रौतहट ३ बैशाष
राैतहट गौरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि प्रहरीले कडाइ थालेको छ । नो पार्किङ क्षेत्रमै जथाभावी सवारी राख्ने प्रवृत्ति बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले विशेष निगरानीसहित कारबाही अभियान सञ्चालन गरेको हो । विहिबार सञ्चालन गरिएको अभियानका क्रममा नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकल लगायतका सवारी साधनमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाएको छ । व्यस्त बजार क्षेत्र तथा मुख्य सडकलाई लक्षित गरी गरिएको उक्त कारबाहीले सवारी आवागमन सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । ट्राफिक प्रहरीले पटक–पटक सचेतना गराउँदा पनि नियम उल्लङ्घन हुने क्रम नरोकिएपछि बाध्य भएर कडाइ गर्नुपरेको जनाएको छ । “नो पार्किङ क्षेत्रमा सवारी राख्दा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ,” ट्राफिक प्रहरीको भनाइ छ ।यसैबीच, ट्राफिक कार्यालयले सवारी चालक तथा सर्वसाधारणलाई निर्धारित स्थानमा मात्र पार्किङ गर्न अनुरोध गर्दै नियम उल्लङ्घन गरेमा आगामी दिनमा अझ कडा कारबाही गरिने चेतावनी दिएको छ ।

